शुक्रवार, 27 जनवरी 2017

नयाँ शक्ति विधार्थी युनियन सिरहामा गठन गर्यो

सिरहा,माघ १४ गते | नयाँ शक्ति नेपालको वर्गी संगठन नयाँ शक्ति विधार्थी युनियन सिरहाको गठन गर्यो |

यसै पाटीक जिल्ला कार्यकारीणी सदस्य तथा सिरहा नगरपालिका इन्चार्ज सोभित पासमानको अध्यक्षतामा ११ सदस्य (श्री सुर्य नारायण सत्यनारायण मोरवेता यादव वहुमुखी क्याम्पस) को एकाई कमिटि गठन गरियो | आउदो फाल्गुनमा हुने क्याम्पसको विधार्थी चुनावमा नयाँ शक्ति विधार्थी युनियनले पनि चुनावमा भाग लिने पक्का भएको जानकारी गराइएको छ |

१. कैलाश पासमान – संयोजक
२. रामअधिन पासमान – सदस्य
३. श्रवन कुमार मेहता – सदस्य
४. रुपकला भण्डारी – सदस्य
५. मनोज मण्डल – सदस्य
६. पुजा साह – सदस्य
७. मुकेश पासमान – सदस्य
८. सरोज यादव – सदस्य
९. राजेश कुमार गुप्ता – सदस्य
१०. चुनु पाल – सदस्य


११. सन्तोष कुमार यादव – सदस्य

श्रोत व्यक्ति र विनिबीच हात हालाहाल

सिरहा,माघ १४ गते । श्रोत व्यक्ति बैधनाथ यादव र जिशिका धनुषामा कार्यरत विद्यालय निरिक्षक शसि यादवबीच विहिवार जिल्ला शिक्षा कार्यालय सिरहाको कार्यकक्षमै गालीगलौजसँगै हात हालाहाल भएको छ । 
सिरहा लक्ष्मीनिया–१ का शसि व्यक्तिगत कामको शिलसिलामा बैधनाथसँग कुरा गर्दा गर्दै हात हालाहाल गरेको हो । ‘मलाई पिट्यो, पिट्यो भन्दै शसिलाई बैधनाथले लखेट्दै गरेको देखेँ,’ नाम नछाप्ने शर्तमा प्रत्यक्षदर्शीले भने,‘लखेट्ने क्रममा बैधनाथले हान्दा शसिको टाउको फुट्यो ।’
प्राथमिक उपचार पश्चात बोलाएको बेला उपस्थित हुने शर्तमा दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले परिवारको जिम्मा लगाएका छन् ।  
समायोजनको लागि विवाद
जिल्ला शिक्षा कार्यालय धनुषामा कार्यरत लक्ष्मीनिया–१ का शसिको आफन्त सहजकर्ता भएर काम गर्दै आएको सामुदायमा आधारित बालविकास विद्यालयमा समायोजन गर्ने विषयमा विवाद भएको जिल्ला शिक्षा कार्यालय श्रोतले बताएको छ ।
बैधनाथलाई शसिले ‘मेरो आफन्तको काम छिटो नगरेको किन ?’ भन्दै कार्यालयभित्र प्रवेश उनकै कार्यकक्षमा गएको कार्यालय श्रोतको दाबी छ । शसि प्रवेश गरेको एकछिनकै कुराकानी पछि आवाज बाहिर आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
जघन्य अपराध
‘यो जघन्य अपराध हो,’सहायक जिल्ला शिक्षा अधिकारी डिल्लीराम अधिकारीले भने,‘घटनाबारे बुझ्दैछु दोषीमाथि कारवाही हुनुपर्छ ।’ स्थानीय प्रशासनसँग समन्वय गरेर कारवाही प्रक्रियामा कार्यालयले सहयोग गर्ने उनले बताए । 
कारवाहीको लागि स्थानीय प्रशासन आश्वासन समेत दिएको उनले भने । कुनै पनि कुरा सहज रुपमा राख्नुको साटो कुटपिटमै उत्रिनु मानव अधिकार विरुद्धको व्यवहार भएकोले दोषीमाथि हदैसम्मको कारवाहीको उनले माग गरे ।
दुबै जना कर्मचारी नै भएको हुनाले उपचार पछि जमानतमा छाडिएको प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए । ‘कर्मचारी भएको नाताले शिक्षा ऐन अन्तर्गत जिशिअले पनि कारवाही गर्न सक्छ,’उनले भने,‘हामी अहिले उपचार गराएर छाडेका छौं । लिखित आए कारवाही प्रक्रिया पनि अगाडि बढ्ने छन् ।’ पिडक र पिडित दुबै सम्पर्कमा आउन चाहेन् ।

गोलबजार नगरपालिका समायोजनको माग गर्दै डेलिकेशन

सिरहा,माघ,१४ गते । दुर्गापुरबासीले विहिवार जिल्ला विकास समिति सिरहामा गोलबजार नगरपालिका समायोजनको माग गर्दै डेलिकेशन दिएका छन् । सैकडौंको संख्यामा आएका दुर्गापुरका स्थानीयहरु ¥याली प्रदर्शन गर्दै डेलिकेशन दिएको हो । 
धनगढीमाई नगरपालिकामा हैन, गोलबाजर नपामा दुर्गापुर लगायतका नारा लगाउदै उनीहरुले प्रशर्दन गर्दै स्थानीय विकास अधिकारी समक्ष स्मरण पत्र पेश गरेका हुन् । राजनीतिक प्रभावमा दुर्गापुरलाई जनताको हित विपरित सहमति बिना नगरपालिकामा समायोजन गर्न नपाउने उनीहरुले जोडदार माग गरेका थिए । 
प्रशासनिक कामकाजको लागि दुर्गापुरका सेवाग्राहीलाई गोलबजार नगरपालिका सहज रहेको नेकपा (माओवादी) केन्द्रका विजय कुमार सिंहले बताए । दुर्गापुरबाट धगढीमाई नगरपालिकाको दुरी लामो भएको उनले भने । 
‘बृद्ध बृद्धालाई सेवा पाउन असहज हुने,’दुर्गापुरकी सिता कामति भन्छिन्,‘धनगढीमाई नपामा दुर्गापुर कुनै पनि हालतमा राख्न पाइदैन् ।’ नजिकको नगरपालिकामा नराखेर पकड तथा पहँुच भएका व्यक्तिहरुले हामीमाथि अन्याय गरेको उनको ठहर छ ।
धनगढीमाई नपामा दुर्गापुरलाई नराख्न विगतमा सचेत गराएपनि कुनै सुनुवाई नभएको संघीय समाजवादी फोरम नेपालका हरिनारायण कामैतले गुनासो गरे । उनले समान्य दबावलाई बेवास्ता गर्दै आएपछि जनप्रदर्शन सहित डेलिकेशन आउनु परेको भने । 
मागलाई अझै बेवास्ता गरे आउने दिनमा कडा आन्दोलन गरिने ज्ञानेन्द्र महतोले चेतावनी दिए । उनले धनगढिमाई नपा जाने बाटोमा नदि पर्ने भएकोले वर्षातको मौसममा जनतालाई सेवा लिन समस्या हुने हुनाले चुप लागेर बस्न नमिल्ने बताए । 
जनस्तरबाट आएका कुरालाई जस्ताको त्यस्तै विभाग तथा सम्बन्धित निकाय समक्ष राख्ने स्थानीय विकास अधिकारी सुरेश राउतले प्रतिबद्धता जनाए । उनले आफुबाट हुने सबैखाले सहयोग गर्ने बताए । डेलिकेशनका सहभागीहरुलाई स्थानीय विकास अधिकारी राउतले भने,‘तपाईहरुलाई आउने पर्थेन् । मलाई बोलाउदा गाउँमै आउँथे ।’ दुर्गापुर गाविसलाई धनगढिमाई नपामा राख्ने निर्णय विगतमै भएको छ ।

तरेगना गोबिन्दपुर खुदिमु घोषणाको अन्तिम चरणमा

सिरहा,माघ १४  । लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरमा रहेको मुसहर समुदायका बासिन्दाहरुले  खुल्ला दिशामुक्त अभियानका अभियानकर्मीहरुलाई देख्ना साथ चर्पी अवलोकनका लागि अनुरोध गर्न थाल्यो । त्यो टोली घरको नजिक नपुग्दै उर्मिला सदाले भनिन्,‘सर, मैले पनि चर्पी बनाए ।’
फुसको दुईवटा स–साना घर छन् । बसोवास घरको उत्तरपट्टी उर्मिलाले आफ्नो आर्थिक क्षमता अनुसार फुसकै चर्पी बनाएकी थिइन् । धेरै पहिले बनाएको चर्पी केही जीर्ण देखिएको थियो । अवलोकन टोलीले दिएको सुझाव अनुसार एकै दिनमा स्थानीय सामग्री उपयोग गरेर चर्पी मर्मत गरिन्, उर्मिला ।
उर्मिला मात्र नभएर तरेगना गोविन्दपुरबासी नै खुल्ला दिशामुक्त गर्न लागी परेका छन् । त्यो ठाउँमा पुग्नेहरुले कुनै दृष्य हेर्न पाउछ भने त्यस मध्ये गाउँलेहरुले बनाइराखेको चर्पीको दृष्य अवश्य देख्न पाउछन् । खासगरेर त्यहाँको दलितबस्तीका बासिन्दाहरु खुल्ला दिशामुक्त अभियानमा निकै सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ ।
गाउँका विभिन्न ठाउँमा कत्तै रिङ्ग बनिरहेको छ । कत्तै चर्पी बनाउन हद खनिरहेका हुन्छन् त कत्तै पुराना चर्पीहरु मर्मत गर्ने गरेको पाउन सकिन्छ । के बृद्ध, के युवा, को बालबालिका सबैले आ–आफ्नो स्थानबाट गाउँलाई खुल्ला दिशामुक्त घोषणा गर्न सक्रियताका साथ काम गर्दै गरेको पाउन सकिन्छ । 
खुल्ला दिशामुक्त हुनु यो एक प्रकारको अभियान भएको दर्साउदै स्थानीय सुरतिया सदाले घर–घरमा चर्पी बनेर नियमित रुपमा प्रयोग भइराख्यो भने हामीलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार चर्पी नभएर खुल्ला रुपमा दिशा पिसाव गर्नाले धेरै प्रकारका रोग लाग्ने गरेको विभिन्न गोष्ठिहरुमा थाहा पाए । खुल्ला रुपमा गरिने दिशा पिसावका कारण लाग्ने रोगको सिकार विपन्न दलित नै हुने गरेको उनले दाबी गर्दै नियमित रुपमा चर्पी प्रयोग गर्न समुदायका सबैसँग आग्रह गरे । 
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य धिरेन्द्र साह सम्लित कर्मचारी, अभियानकर्मीहरुको चर्पी अनुगमन टोली गएको एक हप्तायता तरेगना गोविन्दपुरमा चर्पी निर्माण तथा नियमित प्रयोगको अवस्था अवलोकन गरे । 
‘बाजे, कता हुनुहुन्छ ? के, हजुरको घरमा चर्पी बनेको छ ? हो, भने नियमित रुपमा प्रयोग गरिराख्नु भएको छ कि कसो ?’ यी र यस्ता प्रश्न गर्दै विहान ४ देखि ८ बजेसम्म तथा साझा ५ देखि ७ बजेसम्म घरदैलो गरेको हो । चर्पी निर्माण तथा प्रयोगको अवस्था अवलोकन गर्नुका साथै महिलाको निम्ति चर्पीको नियमति प्रयोगको महत्वबारे दर्साइएको नेपाल स्वास्थ्यको लागि पानी (नेवा) की बरिष्ठ स्वास्थ्य सहजकर्ता कंचन कुमारी चौधरीले बताइन् । 
गाउँलाई खुल्ला दिशामुक्त बनाउन पूर्व गाविस अध्यक्ष गडुल बहादुर मगरको सक्रियता बढेको छ । टोलीसँग सहजीकरण गर्दै समस्या देखिको ठाउँहरुमा स्थानीयहरुलाई सम्झाउन विहान र साझ गाउँ घुम्दै आएका छन् । स्थानीयहरुका अनुसार टोली आउनु केही दिन अघि देखि नै व्यक्तिगत रुपमा पनि उनी चर्पी अवलोकन गर्दै आएका छन् ।
पूर्व गाविस अध्यक्ष मगरलाई केही स्थानीयहरुले सहयोग पनि गर्दै आएका छन् । उनीहरुले गाउँको हरेक घरमा घरदैलो अभियानलाई निरन्तरता दिँदै आएको हो । तत्कालिन अवस्थामा चर्पी निर्माण तथा प्रयोगको अवस्था सर्वेक्षण गर्दा ४ सय ८० घर मध्ये ३ सय ४ घरमा चर्पी रहेको प्रयोग भइरहेको भेटिएको सामाजिक परिचालक उमा कुमारी कट्वालले बताइन् । उनले अब ५÷६ घर मात्र बाँकी छन् त्यो पनि निर्माणको क्रममा रहेकोले माघभित्र खुल्ला दिशामुक्त हुने दाबी गरिन् ।
‘हामी आफ्नो तर्फबाट धेरै अघि देखि अभियानमा लागेका थियौं,’स्थानीय बैधनाथ साफीले अबलोकन टोलीलाई भने भने,‘तपाईहरु बाहिरबाट आएर हामीलाई ठुलै सहयोग पुगेको छ ।’ बाहिरबाट आउने व्यक्तिहरुबाट स्थानीयहरु प्रभावित भएर चर्पी बनाउन र नियमित प्रयोग गर्न राम्रो तत्परता देखाउने गरेको उनले दाबी गरे । 
घरदैलो गर्ने अभियानकर्मीहरुलाई गाउँमा खुल्ला दिशामुक्त अभियानप्रति देखाएको सक्रियताबाट स्वास्थ्य चौकीमा कार्यरत अनमी अर्चना लामा प्रभावित भइन् । ‘आज फलानो गाउँ खुदिमु घोषणा भयो । त्यो गाउँमा खुदिमु घोषणा गर्न घरदैलो भयो,’जस्ता सूचना सुन्दा आफु निकै प्रभावित हुन्थे उनी भन्छिन्,‘आफ्नो गाउँलाई खुदिमु घोषणा गर्न के भइरहेको छ । त्यो जान्न र सक्रिय हुन धेरै दिन देखि चासो थियो तर कोंही साथी नभएर सोचेरै बस्थे ।’ उनले गाउँलाई खुदिमु घोषणा गर्न हुने हरेक कार्यक्रममा सक्रिय सहभागी हुने प्रतिबद्धता व्यक्त गरिन् । खुल्ला दिशामुक्त वडा घोषणा गराउन नेपाल स्वास्थ्यका लागि पानी नेवाले समुदायमा सहजीकरण गर्दै विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।   

पत्रकारको सक्रियतामा बल्कवा खुदिमु क्षेत्र घोषणा

सिराहा । सधैंभरी कलम चलाएर समाज रुपान्तरणमा योगदानमा दिने पत्रकारहरुले सिरहामा दिनरात खटेरै गोलबजार नगरपालिकाको एउटा वडा खुल्ला दिसामुक्त बनाएका छन् ।

सिरहामा गठित सरसफाई तथा स्वच्छताका लागि पत्रकार समन्वय समिति (जेवाससिसी) ले १ सय १५ दिन खटेर गोलबजार नगरपालिकाको वडा ११ रहेको आशोपुर बल्कवालाई खुल्ला दिसामुक्त क्षेत्र बनाएका छन् । ८ सय ४३ घरधुरीमध्ये शौचालय निर्माण हुन नसकेका २ सय २५ घरधुरीमा आफैंले खटेर शौचालय निर्माण गर्न लगाएपछि आशोपुर बल्कवाले बुधबार खुल्ला दिसामुक्त वडाको रुपमा मान्यता पाएको हो ।

सन २०१६ सम्म खुल्ला दिसामुक्त क्षेत्र बनाउनुपर्ने उक्त वडामा कसैगरी पनि निर्धारित समयमा उक्त अभियानले पुरा हुनसक्ने अवस्था देखिएको थिएन । सोको कारण खोज्न आशोपुर बल्कवा पुगेका जेवाससिसीको टोलीले त्यहाँ बसोबास गर्ने दलित र विपन्न समुदायकै वस्तीमा शौचालय निर्माण हुन नसकेको देखेपछि आफैंले खटेर शौचालय निर्माण गर्न सघाऊ पु¥याउने महसुस ग¥यो ।
त्यसपछि त के, पालैपालो जिल्लाका अधिकांश सञ्चारकर्मी आशोपुर बल्कवा पुग्न थाले । खाल्टो नखनेका घरधुरीलाई खाल्टो खन्न लगाए, रिड्ढ नगाडेको ठाउँमा रिड्ढ गाड्न लगाए तथा जानेर बुझ पचाउने समाजका केही ढीठहरुलाई हात जोडेरै शौचालय बनाउन लगाए ।
त्यस वडामा केही वर्ष अगाडि सुनौलो हजार दिनको कार्यक्रम मार्फत केही घरमा शौचालयको हदको लागि प्रयोग हुने रिड्ढ बाँडिएको रहेछ, जेवाससिसी सिरहाका संयोजक दिनेश्वर प्रसाद गुप्ताले भने, त्यसको रिसमा रिड्ढ नपाएका व्यक्तिहरुले शौचालय बनाउन मानेका रहेनछन् ।
हामीले विन्ती भाऊ चढायौ हात जोड्यौ त्यतिले मात्र नपुगेर कतिपय घरको कुनामा आफैंले कोदालोले खाल्टो पनि खन्यौ, उनका अनुसार, पछि त शौचालय बनाउन नमान्नेहरु आफैंले शौचालय बनाउन थाले ।
सञ्चारकर्मी साथीहरु नलागिदिएको भए शायद यो वडा खुल्ला दिसामुक्त हुँदैनथ्यो होला, आशोपुर बल्कवामा आयोजित घोषणासभामा बोल्दै सिरहाका स्थानीय विकास अधिकारी सुरेश राउतले बताए । खुल्ला दिसामुक्त अभियानमा सिरहाका सञ्चारकर्मीहरुको योगदान अतुलनीय रहेको उनले सुनाए ।

बुधवार, 25 जनवरी 2017

समाजका सामन्तीहरु राजाको रुपमा रहेको क्रान्तिकारकिो आरोप

सिरहा, १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का बरिष्ठ उपाध्यक्ष अनिला शार्माले अहिले पनि समाजका सामन्तीहरु राजाको रुपमा रहेको बताएका छन् । 
अखिल क्रान्तिकारी सिरहा क्याम्पसद्धारा मंगलबार सिरहामा आयोजित स्ववियू सम्बन्धी बहस तथा छलफल कार्यक्रममा बोल्दै शर्माले गरिब जनताका चेलीबेटीलाई समान्तीलाई बुझाउने अवस्थाको अन्त्य माओवादी पार्टीको लडाईले सम्भव भएको र सिरहा समाजमा अहिले पनि सुरेश चन्द्र दास जस्ता सामन्तीहरु गाउँका राजाका रुपमा रहेको बताइएका छन् । जनतालाई सचेत गराइएका कारण रामवृक्ष यादव जस्ता नेतालाई कंग्रेसी गुण्डाले मारेको आरोप लगाउदै शर्माले शैक्षिक क्षेत्र भित्रको विकृति र विसंगतिको अन्त्य अखिल क्रान्तिकारीको लडाई बिना सम्भव नरहेकोले विकृति र विसंगति विरुद्ध लाग्न अखिल क्रान्तिकारी सम्बद्ध विद्यार्थी नेतालाई आग्रह गरेका छन् ।
अखिल क्रान्तिकारीका सचिवालय सदस्य अरबिन्द यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा क्रान्तिकारीका सन्तोष बिष्ट, भोला यादव लगायतकाले स्ववियू चुनावको आवश्यकता र महत्वबारे आफ्ना धारणा राखेका थिए ।

दृष्टिविहीन परिवारका लागि घर बनाउने जीग्री–पाँडेको घोषणा (भिडियाे)

काठमाडौं– हास्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे)ले सामाजिक काममा आफ्नो कमाइको ५ प्रतिशत लगानी गर्ने र वार्षिक १० वटा कार्यक्रम गर्ने घोषणा गरेका छन्। सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाउने उद्देश्यले उनीहरुले यस्तो घोषणा गरेको जनाएका छन्।
आफ्नो कमाइको अलवा उनीहरुकै सक्रितामा स्थापना भएको जीग्री–पाँडे प्रतिष्ठानले वार्षिक १० वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले बताए।
जीग्री–पाँडे प्रतिष्ठानको स्थापना नै सामाजिक कामका लागि भएको भन्दै उनीहरुले सप्तरीको गम्हरीया–४ प्रवाहका दृष्टिविहीन ३ परिवारका लागि घर बनाउने घोषणा गरेका हुन्।
युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहको पहल र सप्तरी युथ नेपालको संयोजनमा उक्त ठाउँमा पुग्दा त्यहाँको दुरावस्थाले आफूहरुलाई केही गर्नुपर्छ भन्ने भावना उत्पन्न भएको उनीहरुको भनाई छ।
सप्तरीका उक्त तीन परिवारमा १७ जना सदस्य छन्। उनीहरुलाई पाल्ने मुख्य व्यक्तिसहित ५ जना नै दृष्टिविहीन हुँदा दैनिक गुजरा चलाउन समेत समस्या छ। बस्नको लागि बास, शरीरमा लगाउने कपडा र खाद्यन्नको समेत अभावमा रहेकाले उनीहरुलाई सहयोग गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। केही दिन अघि मात्र उनीहरुले दृष्टिविहीन परिवारका लागि लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए।
३० लाख रुपैंया अनुमानित लागतमा निर्माण हुने उक्त घर बालमैत्री, अपांगमैत्री र धुवाँरहित बनाइने जीग्री पाँडे प्रतिष्ठानले जनाएको छ। दृष्टिविहिनका लागि घर बनाउने अभियानका लागि सहयोग गर्न प्रतिष्ठानको कृषि विकास बैंकको खाता नं. ०२१०६०११२९५९३०१२ वा प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको नाममा रेमिट्यान्समार्फत पनि सहयोग पठाउन सकिने जीग्री–पाँडेले जानकारी दिएका छन्।
यसैबीच, उनीहरुले धुर्मुस–सुन्तलीले देखाएको समाज सुधारको बाटोमा आफूहरु पनि हिँड्न तयार भएको उनीहरुले बताए।
‘उहाँहरुसँगको सहकार्य र ऐक्यबद्धता अहिले पनि जारी छ, त्यसबाट पाएको शिक्षाको प्रतिफलस्वरुप दृष्टिविहीन परिवारका लागि घर बनाउने आँट गरेका हौँ,’ कुमार कट्टेलले भने। देखासेखी वा प्रतिस्पर्धा भन्दा पनि सामाज परिर्वतनका लागि आफूले सकेको सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएकाले त्यही कर्तव्य आफूहरुले पालना गरेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले बताए।
‘यो कामका लागि सहयोगी हातहरुको साथ आवश्यक छ,’ उनले भने, ‘सहयोगका लागि प्रतिष्ठानले सबै समक्ष अपिल गर्दै भिडियो सार्वजनिक गरेको हो।’
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/D5TW4qVLBxU