राजनीतिक सम्मेलन ‘अनिश्चित’
काठमाडौं,भदौ ३१ – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले शान्ति प्रक्रिया, संविधानका अन्तर्वस्तु र संक्रमणकालीन राजनीति व्यवस्थापनका विषयलाई चारदलीय सहमतिमा राख्न आग्रह गरेपछि मंगलबार हुने भनिएको ‘राष्ट्रिय सर्वपक्षीय राजनीतिक सम्मेलन’ अनिश्चित बनेको छ। सम्मेलनको पूर्वसन्ध्यामा सोमबार नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी शीर्षनेताको बैठकमा नेकपा–माओवादीले शान्ति प्रक्रिया र संक्रमणकालीन राजनीतिको व्यवस्थापनसहितका विषय चारदलीय सहमतिमा उल्लेख गर्ने प्रस्ताव राखेको थियो। कांग्रेस र एमाले भने वैद्य माओवादी नआए पनि मंगलबारको सम्मेलन गर्ने पक्षमा छन्। ‘सम्मेलनमा संविधानका अन्तर्वस्तुमा मात्र छलफल गरौं र शान्ति प्रक्रिया तथा संक्रमणकालीन राजनीति व्यवस्थापन कसरी गर्ने भन्नेमा चार दलबीच छलफल गर्दै अघि बढ्ने सहमति भएको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘वैद्य माओवादीले त्यसलाई पनि चारदलीय सहमतिमा राख्ने कुरा गरेपछि बैठक भाँडियो।’ नेकपा–माओवादी सचिव देवप्रसाद गुरुङले सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न नीतिगत सहमति जुटे पनि त्यसले औपचारिकता पाउन बाँकी रहेको बताए। ‘कार्यदलको तहमा भएका सहमतिलाई लिपिबद्ध गर्ने काम भएको छैन,’ बैठकपछि उनले भने,‘शीर्ष तहमा लिखित सहमति हुन सकेको छैन, मंगलबार बिहानै सहमति भयो भने सम्मेलन हुन सक्छ।’ पूर्व सहमतिअनुसार आफूहरू सम्मेलनका लागि तयार रहेको जनाउँदै गुरुङले सबेरै शीर्ष तहमा छलफल हुने जानकारी दिए। आजको नागरिक दैनिकमा खबर छ । -
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें