सुर्खेत, श्रावण २५ - अखण्ड मध्यपश्चिमको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाएको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गोली लागि घाइते भएकाको उपचारका लागि ४ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।
मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोसीत वनेका सुर्खेतका आन्दोलनकारीहरुले नेपाली कांग्रेस सहमहामन्त्री तथा पुर्व गृहमन्त्री पूर्णबहादुर खड्का र सभासद हृदयराम थानीको घरमा आगजनी तथा तोडफोड गरेका छन् ।
अखण्ड मध्यपश्चिम र संघीय राजधानी सुर्खेतमा हुनुपर्ने माग राखी आइतबारदेखि सुरु गरिएको आन्दोलनले उग्र रुप लिँदा ३ प्रमुख दलका पार्टी कार्यालय र जिल्ला प्रशाशन लगायत केही सरकारी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
सभासद्समेत रहेका खड्काको घरमा आगजानी गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हँुदा गोली काण्ड पनि भएको छ । झडपमा परि गोली लाग्दा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउमा उपचार भइ रहेकोछ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशव अधिकारीका अनुसार ढाडमा छर्रा लागेका तीनजालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
आन्दोलनले उग्र रुप लिएपछि सुर्खेतमा मध्यान्न १ बजेदेखि राती ९ वजे सम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशाशन कार्यालय सुर्खेतले जानकारी दिएका छ ।
सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा दिइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सहमहामन्त्री खड्काको सुरक्षा दिन बसेका प्रहरीले ४–५ राउन्ड फाइरीङ गरेको सहमहामन्त्रीका भाइ विष्णुबहादुर खड्काले जानकारी दिए । आन्दोलनकारीले सुर्खेतस्थित नेपाली कांग्रेस, एमाले, एमाओवादीलगायतका पार्टी कार्यालय तोडफोड गरी पार्टीका कागजपत्र आगो लगाइदिएका छन् ।
मध्यपश्चिम विकास क्षेत्रलाई विभाजित गरि सुर्खेत दैलेख र जाजरकोटलाई छैठौ प्रदेशमा र बाँके बर्दियासहित राप्ती अञ्चललाई पाँचौ प्रदेशमा गाभिएको विरोधमा बन्द आव्हान गरिएको थियो ।
मध्यपश्चिमलाई सातौं प्रदेशसहित प्रान्तीय राज्यको राजधानी सुर्खेतलाई बनाइनुपर्ने माग समेत गरेका छन् ।