मंगलवार, 24 जनवरी 2017

विप्रेषणले बस्तीको स्वरुप फेरियो

सिरहा, ११ माघ । सिरहाको गोलबजार नगरपालिका– ११ बलक्वाका मो कुदुस हारुनलाई अहिले इँटाको पक्की घर बनाउने चटारो छ ।
केही वर्षअघिसम्म पुरानो फुसको घरमा जसोतसो दिन काट्दै आएका हारुनलाई वैदेशिक रोजगारमा रहेका छोराले पठाएको पैसाबाट नयाँ पक्की घर बनाउन चटारो भएको हो ।
नयाँ घर बनाउन इँटा, गिटी, बालुवा र रडजस्ता आवश्यक सामग्रीको जोहोसमेत गरिसक्नुभएका कुदुस भन्नुहुन्छ– “घरको जग खन्ने काम भईसकेको छ, अब बाँकी काम हुन्छ ।” घर बनाउने कामदार र मजदुरले काम शुरु नगरेकाले मात्र घर निर्माणमा केही ढिलाई भएको हो, उहाँ भन्नुहुन्छ–“ नत्र माघको पहिलो सातासम्ममा घरको काम सकिसक्थ्यो ।” हारुनको ५ छोरामध्ये तीनजना अहिले बैदेशिक रोजगारको क्रममा साउदी अरबमा छन् । तीनवटै छोराले कमाएर पठाएको पैसाबाट घर बनाउन लागेको हारुनको भनाइ छ ।
छोराहरुले नै बैदेशिक रोजगारीबाट पठाएको रकमबाटै पाँचकोठे पक्की घर बनाईसकेका सोही ठाउँका मो. कुदुस भने अब गाउँमा थोरै भएपनि जग्गा खरिद गर्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“ घर बनाईसके, अब गाउँमा केही जग्गा जमिन खरिद गर्ने सोचमा छु ।” केही बर्षअघिसम्म निम्न वर्गीय परिवारका रुपमा चिनिने कुदुसको परिवार अहिले गाउँमा हुने खाने परिवारको रुपमा समेत पहिचान बनाउन सफल भएको छ् ।
यस्तै कुनै बेला परिवारको दुई छाक टार्न हम्मे हुने बलक्वाकै जिब्रिल मियाँलाई पनि बैदेशिक रोजगारले यो समस्याबाट मुक्ति दिलाएको छ । करिब ४ बर्षअघि साहु महाजनबाट ऋण लिएर बैदेशिक रोजगारमा गएका मियाँले बिदेशमै कमाएर अहिले परिवारलाई सम्पन्न रुपमा अघि बढाईरहेका छन् । बैदेशिक रोजगारबाट दुई महिनाअघि मात्र घर फर्किनुभएका मियाँ भन्नुहुन्छ–“ बिदामा आएको छु, फेरी कमाउन बिदेश जान्छु ।” उहाँकै कमाईबाट अहिले एउटा छोरा र एक छोरी गाउँ नजिकैको बोर्डिङ्ग स्कुलमा पढ्दै छन्, मियाँकी श्रीमती हसिना खातुन भन्नुहुन्छ–“ श्रीमान्को कमाईले अहिले हाम्रो जीवन नै फेरिएको छ ।”
अहिले उहाँहरुको मात्र होईन्, सिंगो बस्तीकै स्वरुप फेरिएको छ । फुसै फुसको घर देखिने बस्तीमा अहिले पक्की घर देखिन थालेको छ । एक दशकअघिसम्म गरिब, बिपन्न र भूमिहिन सुकुम्बासीहरु समेत बैदेशिक रोजगारका कारण अहिले सम्पन्न बनेका हुन् ।
बैदेशिक रोजगारकै कारण सिरहा जिल्लामा अचेल दैनिक रु. एक करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको अनुमान छ । कामको सिलसिलामा छिमेकी मुलक भारत तथा खाडी मुलुकका विभिन्न देशमा गएका सिरहाका युवाले मनि ट्रान्सफरमार्फत दैनिक करिव रु. एक करोड रकम पठाउने गरेका छन् ।
रोजगारीमा गएका आफन्तले पठाएको रकम लिन सदरमुकाम तथा लहानस्थित मनि ट्रान्सफरका शाखामा दैनिक भीडभाड हुने गरेको छ । सामान्य अवस्थामा सदरमुकाम तथा लहानमा खोलिएका विभिन्न मनि ट्रान्सफरका शाखाबाट अहिले दैनिक रु.एक करोड भन्दा बढी रकम जिल्ला भित्रिने गरेको लहानस्थित सोनु मनि ट्रान्सफरका सञ्चालक गौरी साह बताउनुहुन्छ ।
तेस्रो मुलुक मलेसिया, कतार, दुबई, साउदी, ओमन, कोरिया, इराक तथा इरोपियन मुलुकबाट सबैभन्दा बढी रकम आउने गरेको उहाँको भनाइ छ । जिल्लाबाट बैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्ेपछि सिरहाका आधा दर्जन स्थानमा अहिले मनि ट्रान्सफर खुलेका छन् ।
सिरहाको बिभिन्न स्थानमा प्रभु मनि ट्रान्सफर, बेस्टर्न यूनियन मनि ट्रान्सफर, आइएमई, हिमाल रेमिटल, कृषि प्रमुरा, सनराईज मनि ट्रन्सफर, सिद्धार्थ रेमिट लगायत एकदर्जन भन्दा बढी ट्रान्सफरका शाखा तथा जिल्लामा स्थापना गरिएका समुदायिक सहकारी संस्थामार्फत समेत रेमिट्यान्स भित्रिने गरेको छ । जिल्लाबाट करिब डेढ लाख भन्दा बढी युवाहरु बैदेशिक रोजगारमा रहेको अनुमान छ ।

सुनसरी, सप्तरी, सिरहा लगायत पन्ध्र जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ हुने

काठमाडाै, ११ माघ । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आगामी फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ ह
जार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाएको भए पनि सार्क देश पाकिस्तान र अफगानिस्तानमा अझै पोलियो देखिएकाले नेपालमा पनि उच्च जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्लामा छनोट गरी कार्यक्रम गर्न लागिएको हो । नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ ।
युनिसेफले भ्याक्सिनको सहयोग गर्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले रु एक करोड ५० लाख, सरकार र दाताको संयुक्त कोषको रु एक करोड १० लाख खर्च हुने अधिकृत श्रेष्ठले बताउनुभयो ।
विश्वले सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । हाल पाकिस्तान र अफगानिस्तानबाहेक अन्य देशमा पोलियो नदेखिएको सङ्गठनको भनाइ छ । सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

एक सय रुपैयाँमा शल्यक्रियासम्मको उपचार सेवा प्रदान गर्ने अस्पतालको खाका कोर्दै छु: डा.उपेन्द्र महतो

सिराहा,(कर्जन्हा), २६ पुस। फुलकुमारी मेमोरियल ट्रष्टका अध्यक्ष एवम् गैर–आवासीय नेपाली संघ –एनआरएनए)का संस्थपक अध्यक्ष डा.उपेन्द्र महतोले गुणस्तरीय स्वस्थ्य सेवाकालागि अव नेपालीले विदेश जानुपर्ने अवस्था छिटै हट्ने बताएका छन्।
फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा संचालनमा ल्याएको “आमा र बच्चा विशेषज्ञ स्वास्थ्य उपचार सेवा” को उद्घाटनको क्रममा उनले भने, ‘आफूले नेपालको पैसा नेपालमै रहने गरी विदेशी विशेषज्ञ डाक्टरमार्फत उपचार हुने नेपाल मेडिसिटि अस्पताल सञ्चालनमा ल्याउन लागेको छु।’
आफूहरुले कर्जन्हामा आमाको स्मृतिमा फूलकुमारी महतो मेमोरियल अस्पताल साढे चार वर्ष अगाडिदेखि नै सञ्चालनमा ल्याउनुको साथै भैंसेपाटीमा दक्षिण एसियाकै सबैभन्दा ठूलो अस्पतालको रुपमा नेपाल मेडिसिटी अस्पतालको निर्माण गरिरहेको उल्लेख गर्दै उनले, ‘ एक सय रुपैयाँमा शल्यक्रिया सम्मको उपचार सेवा प्रदान गर्ने अस्पतालको खाका कोर्दै छु।’
त्यस्तै फरक प्रसँगमा महतोले आजको युग आर्थिक समृद्धिको युग भएको उल्लेख गर्दै राष्ट्र समृद्धिको अभियानमा सबै एक भएर जुट्नुपर्ने बताए।
डा. महतोले राजनीतिक मतभेदहरु भएपनि मुलुकको विकासको लागि सबै दलहरु एक भएर प्रस्तुत हुनुपर्ने सुझाव दिए। उनले भने,“होला, हामीवीच राजनीतिक विषयमा वा एजेण्डामा मतभेदहरु होलान, तर अब आर्थिक विकास र मुलुकलाई समृद्धिको दिशामा डोर्याउने कुरामा हामी सबै एक भएर लाग्नुपर्छ, एक्लैले सम्भव हुँदैन, सबै मिलियो भने देश अवश्य बन्छ।”
उनले समाज वा देश गरिब भयो भने व्यक्ति जतिसुकै धनि भएपनि त्यसको कुनै अर्थ नहुने बताउँदै देश समृद्ध भएमात्रै त्यो देशको नागरिकको ईज्जत र प्रतिष्ठा हुने धारणा राखे।
फूलकुमारी महतो मेमोरियल अस्पतालले साढे चार वर्षको अवधिमा ५५ हजारभन्दा बढी विरामीहरुको उपचार, ८० हजारभन्दा बढी ल्याब इन्भेष्टिगेसन, १५ हजारभन्दा बढी एक्सरे, पाँच हजारभन्दा बढी भिडियो एक्सरे, तीन सय वटाभन्दा बढी शल्यक्रिया, १२ हजारभन्दा बढी प्रसुति र विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरमार्फत पाँच हजारभन्दा बढी विरामीहरु स्वास्थ्य सेवाबाट लाभान्वित भएको अस्पतालका प्रसाशन प्रमुख विजय रिमालले जानकारी दिए।

हिमपहिरोमा परी १२ को मृत्यु १७ बेपत्ता

इटाली, ११ माघ -छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ । यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन् ।

सो हिमपहिरो गएको छ दिन पछाडि पनि कोही व्यक्तिको जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने कोसिस जारी रहेको बताइएको छ ।
यद्यपि होटेलमा हिमपहिरोले पुरिएका करिब ११ व्यक्तिलाई जीवितै उद्धार गरिएको अधिकारीहरुले गत शनिबार नै जानकारी दिएका थिए ।
बुधबार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म गएको भूकम्पपछि विशाल हिमपहिरो गएको र त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका थिए ।

सोमवार, 23 जनवरी 2017

धनुषाकी एक महिला अढाई वर्षीयाछोरी सहित पाँच दिनदेखि वेपत्ता

जनकपुरधाम , माघ १० गते । 

धनुषा बटेश्वरकी एक महिला अढाई वर्षीया छोरी सहित पाँच दिनदेखि वेपत्ता भएकी छन् । बटेश्वर १ बस्ने श्रवण साह लहेरीका २५ वर्षकी श्रीमती निर्मला देवी र छोरी अढाई वर्षीया रिचु पाँच दिनदेखि वेपत्ता भएको घरपरिवारले जनाएको छ ।
ससुरा विल्टु साहका अनुसार गएको बिहीबार दिउँसो छोरीलाई संगै लिएर घरभन्दा केहि पर दाउरा ल्याउन गएको बेलादेखि बुहारी निर्मला वेपत्ता भएकी छिन् । आफन्तजन सबेमा खोज्दा पनि कतै पत्तो नलागेपछि बुहारीलाई खोजविन गरिदिन अस्थाई प्रहरीचोकी बटेश्वरमा निवेदन दिएको उहाँले बताउनुभयो । 

बुहारी र नातिनी पाँच दिनदेखि वेपत्ता हुँदा घरपरिवार शोकमा डुबेका छन् । न् । वेपत्ता निर्मलाकी श्रीमान् श्रवण वैदेशिक रोजगारको शिलशिलामा तीन वर्षदेखि खाडी मुलुक साउदी अरेवियामा छन् । निर्मलाकी ६ वर्षका छोरा र अढाई वर्षकी छोरी छन् । श्रीमती र छोरी वेपत्ता भएपछि श्रीमान श्रवण विदेशमा तनाव र शोकमा छन् ।  उहाँले  विदेशबाट फोन गरी श्रीमती र छोरीलाई कसैले अपहरण गरेको हुन सक्ने शंका व्यक्त गर्नुभयो । उहाँले केहि दिन अघि एक जना मोटरसाईकलमा सवार व्यक्तिले केहि कुरा भनेपछि श्रीमती निर्मलाले एक झापड हिड्काएकी बताउनुभयो । त्यहि अपरिचित व्यक्तिले निर्मलालाई अपहरण गरेको हुन सक्ने भएकाले खोजविन गरिदिन सबै पक्षसंग आग्रह गर्नुभयो । 
श्रवणले ७ वर्षअघि भारतको पञ्जाबमा कामको शिलशिलामा जाँदा प्रेम विवाह गरी निर्मलालाई ल्याउनु भएको थियो ।  
यता बटेश्वर प्रहरीचोकीले निर्मलाकी ससुरा निवेदन दिएको र आमा छोरीको खोज तलास गरिरहेको जनाएको छ ।

जनकपुर ढल्केवर सडक खण्डमा चक्काजाम

जनकपुरधाम , माघ १० गते । 

धनुषाको सोहनी सिनुरजोडा गाउँबासी आन्दोलित भएका छन् ।  सिनुरजोडा गाविसलाई क्षिरेश्वरनाथ नगरपालिकामा गाभेको विरोधमा उनीहरुले जनकपुर ढलकेवर सडक खण्डमा आज दिउँसो एक घण्टा चक्काजाम गरेका छन् । 
सिनुरजोडालाई क्षिरेश्वरनाथ नगरपालिकाबाट हाटाउनु पर्ने माग गर्दै उनीहरुले आज दिउँसो १ बजेदेखि २ बजेसम्म जनकपुर ढल्केवर सडक खण्डको मैदा मिल नजिक चक्काजाम गरि विरोध प्रदर्शन गरेका छन् । सिनुरोजोडा गाविसलाई जनकपुर उपमहानगरपालिका अथवा गाउँपालिकामा राख्न स्थानीयबासिन्दाले माग गर्दै प्रदर्शन गरेको संघीय समाजवादी फोरमका स्थानीय नेतासमेत रहेका हरिनारायण यादवले जानकारी दिनुभयो । आफुहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने सिनुरजोडा गाउँबासीले चेतावनी समेत दिएका छन् । 
एक घण्टा सडक अवरुद्ध हुँदा यातायातका साधन आवजत जावत प्रभावित भएको थियो ।

कुटपिट अङभङ मुद्दाका फरार तीन जना पक्राउ

सिराहा, माघ ९ गते। अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा ईलाका प्रहरी कार्यलय लहानले कुटपिट अङभङ मुद्दाका फरार तीन जनालाई आइतबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरहा सोनामती मझौरा गाविस ५ घर भई लहान नगरपालिका १८ बस्ने मल्हुन साह तेली, लहान १७ बस्ने शिवनारायण साह तेली र लहान १९ बस्ने रंगलाल साह तेली रहेका छन।पक्राउ परेका व्यक्तिहरु माथि सिराहा जिल्ला अदालतले २०५५ साल पुस १६ गते कुटपिट मुद्दामा जनही एक महिना कैद तथा सात सय अठ्ठासी रुपैया जरिवाना तोकेको थियो।फैसला लगतै फरार भएका तीनै जनालाई इलाका प्रहरी कार्यलाय लहानको टोलीले लहान बजारबाट पक्राउ गरेका हुन। उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकालागी सिरहा कारागार पठाइएको ईलाका प्रहरी कार्यलयका डिएसपी राज कुमार केसीले जानकारी दिनुभएको छ।