मंगलवार, 3 जुलाई 2018

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

दार्चुला, १९ असार । लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।

२०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर तीन मिटर ९० सेन्टिमिटर पुगेको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख राजकुमार घिमिरेले बताउनुभयो । तर फेरि पानी पर्न शुरु भएका कारण पानीको बहाव अझै बढेर जाने खतरा रहेको छ ।

महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ । महाकालीको डरले नदी किनारका नागरिक राति नसुतेरै बस्ने गरेका छन् । महाकालीको डरले रात भर जाग्राम बस्ने गरेको मालिकार्जुन गाउँपालिका–७ का निर्मला चन्दले बताउनुभयो ।

नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ । पानीको बहाव बढेसँगै तत्काल जानकारी गराउन तथा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिई सशस्त्र प्रहरी परिचालन गरिएको गुल्मपति अम्बिकाप्रसमद जोशीले जानकारी दिनुभयो ।

लगातारको वर्षाले जनजीवन प्रभावित बने पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो पहिरो र बाढीको घटना नभएको प्रहरीले जनाएको छ । लगातार पानी पर्ने क्रम जारी रहेका कारण महाकालीमा बाढी आउने आंशका गरिएको छ । भारतको खोतिला क्षेत्रमा गत वर्ष गएको सुख्खा पहिरो अहिले नेपालको बंगाबगड क्षेत्रमा असर गर्ने सम्भावना रहेको छ । खोतिला क्षेत्रमा खसेको पहिरो महाकाली नदीमा आएका कारण नेपालको बंगाबगड क्षेत्रमा जोखिम रहेको छ ।

नेपालतर्फको नदी किनारमा पक्की तटबन्ध निर्माण गरिएको भए पनि सो क्षेत्रमा खसेको पहिरोले गर्दा ठाउँ साँगुरो भएको तथा पानीको बेगले कटान गर्नसक्ने तथा महाकालीको पानी बंगाबगड बजारसम्म आउने खतरा रहेको छ ।

यसैबीच, लगातारको वर्षाले ठाउँठाउँमा सडक भत्किँदा दार्चुला— तिंरक सडकखण्ड अवरुद्ध भएको छ । दार्चुला—तिंकर सडकखण्डअन्तर्गत श्रीबगड, राताकाठा सडक खण्डको दुई÷तीन स्थानमा माथिबाट पहिरो खस्दा मान्छे हिँड्न नमिल्ने गरी सडक भत्किएको छ ।

अवरुद्ध सडक स्थानीयले ट्र्याक्टर प्रयोग गरी खुलाएको भए पनि पुनः पहिरो खस्दा अवरुद्ध बनेको हो । भारी वर्षाका कारण ग्रामीण भेगका बाटो घाटोसमेत भत्किएका छन् ।

जिल्लाका अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ । पाँच वर्ष अघिको विनाशकारी बाढीबाट प्रभावित बनेका दार्चुलावासी यसपालिको वर्षात्मा पनि बाढी आउने भन्दै त्रसित बनेका छन् । महाकालीमा पानीको बहाव बढेपछि स्थानीयमा फेरि बाढी आउने त्रास बढेको हो । रासस

महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

गौशाला, १९ असार । महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् ।

विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको नदी तटीय जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् ।

ती विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु, मरहा, जंघा, विग्ही, कुटमेश्वरीलगायतका नदीमा बाढीको पानीको सतह तीव्ररुपमा बढिरहेका कारण कुनै पनि बेला नदीको पानी गाउँ बस्तीमा पसेर दर्जनौँ गाउँ डुबानमा पार्नसक्ने खतरा बढेको नगरपालिका तथा गाउँपालिकाका स्थानीय बासिन्दाले बताएका छन् ।

त्यस्तै, ती नगरपालिका र गाउँपालिकाका प्रमुखले समेत लगातारको वर्षाका कारण यसपालि पनि ठूलै बाढी आउन सक्ने संकेत देखिएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

यता जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको तर बाढीको खतरा रहेको जनाउँदै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ । रासस

कोशी कटानमा दुर्घटना, छजनाको मृत्यु, चार घाइते

इनरुवा, १९ असार । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नंको स्कारपिओ जिप आफैँ अनियन्त्रित हँुदा छजनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।

घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । रासस

डुबानबाट २२ घरपरिवार विस्थापित

धनगढी, १८ असार । अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा नदीमा बढेको पानी गाउँमा पस्दा भजनी नगरपालिका र आसपासका २२ घर परिवार विस्थापन भएका छन् ।

सो क्षेत्रका काँन्द्रा, काँडा र पथरैया नदीमा बढेको पानी गाउँमा पसेपछि विस्थापन भएका भजनी नगरपालिका, पुलियापुर गाउँका १४ घरपरिवार र धामीधारा गाउँका आठ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

यसैगरी भजनी आसपासको हुलाकी राजमार्गदेखि उत्तरतर्फका लालबोझी, नौबस्ता, कुटी, काँडालगायत गाउँका झण्डै २०० घरमा पानी पसेपछि प्रभावित भएका छन् । “कतिपयलाई स्थानीय क्षेत्रमा बनाइएको ‘सेफ हाउस’ मा राखिएको छ”, प्रहरी निरीक्षक चन्दले भन्नुभयो, “अन्य कतिपय परिवारले हुलाकी राजमार्गलाई ‘सेल्टर’ का रुपमा प्रयोग गरेका छन् ।” सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जिल्लाका बाढी डुबानका जोखिम क्षेत्र पहिचान गरी पूर्वतयारीस्वरुप सबैलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

कैलालीको दक्षिणी भेगमा पूर्वपश्चिम हुँदै निर्माण गरिएको हुलाकी राजमार्गले कतिपय क्षेत्रमा डुुबानको समस्या निम्त्याउने गरेकामा होचो भागमा बस्ने कतिपय बस्तीका बासिन्दाका लागि भने राजमार्गले ‘सेल्टर’ का रुपमा काम गरेको छ । गत वर्ष बाढीका समयमा भजनी क्षेत्रका सयांैँ परिवारले करीब तीन हप्तासम्म हुलाकी राजमार्गमै त्रिपाल टाँगेर बास बस्नुपरेको थियो । ठूलो वर्षा हुने सम्भावना अझै रहेकाले नदी तटीय क्षेत्रका बस्तीलाई सजग रहन जल तथा मौसम विज्ञान विभाग स्थानीय कार्यालयले आग्रह गरेको छ । रासस

शनिवार, 28 जनवरी 2017

सुखिपुर न.पा.मा बोक्सीको आरोपमा महिलालाई गाउँ निकाला, प्रहरीमा उजुरी दर्ता भएन

सिरहा,माघ १५ गते । बोक्सीको आरोपमा सिरहा सुखिपुर नगरपालिका ४ की २५ वर्षीया कलादेवी (नाम परिवर्तन) मण्डललाई दुर्व्यहार गरी गाउँ निकाला गरेको घटना सार्वजनिक भएको छ । स्थानीय विसोप्रसाद यादब र गुमस्ता यादबले उनलाई दुर्व्यवहार गर्नुका साथै लखेटेर गाउँ निकाला गरेका छन् । विसो सुखिपुरस्थित राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धक हुन् ।

घटना माघ ६ गतेको हो । मजदुरी गरेको बनी धान माग्न जाँदा विसोले आफ्नै घरमा बोक्सीभन्दै दुर्व्यवहार गरेको पीडित मण्डलले बताइन् । उनले भनिन्, ‘विसोले तिमी बोक्सी हौं । मेरो घर आएपछि सबै बिमार पर्छन् भन्दै दुर्व्यवहार गरेर एक्कासि कुटपिट गर्न थाल्यो । गुमस्ता पनि त्यही थियो । उनले पनि बिसोसँगै कुटपिट गर्न गरेका थिए ।’

च्यातेको साडी र चोलो देखाउँदै उनले भनिन्, ‘उनीहरूले मलाई मलमुत्र खुलाउने प्रयास गरेपनि म भाग्न खोजे । तर उनीहरु लखेटेर समातेर ६ घण्टा घरमा थुनेर राख्यो । त्यसपछि प्रहरी चौकी सुखिपुर लग्यो । त्यहाँ मलाई केही हेर्न नदिई सहीछाप लगाउन लगाई लहान पुगाए । लहान अस्पतालमा स्वास्थ्य परीक्षण गराई फेरि घर लगेर दुई दिनसम्म थुनेर राखेँ । खान समेत दिदैन्थ्यो ।’ दुई दिनपछि बिसोको घरबाट आफू भागेको र अहिले भारतमा लुकेर बसिरहेको उनले भनिन् ।

बिसोले आफूलाई ज्यान मार्ने धम्की समेत दिएको पीडित कलादेवीले गुनासो पोखिन् । अब गाउँ फर्के ज्यान लिने भनेपछि आफू गाउँ जान नपाएको बताउँदै उनले गाउँमै रहेकी ६ वर्षीया छोरीलाई पनि एक सातादेखि भेट्न नपाएको बताइन् । कलादेवीले जिल्ला प्रहरी कार्यालय सिरहा पुगेर उनीहरूमाथि उजुरी दिन जाँदा प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले उजुरी दर्ता नगरेको गुनासो गरिन् ।

एसपी भन्छन्, ‘घटनाको यर्थात गुमराहमा राखियो’

सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले पीडित भनिएकी सुखिपुरकी ती महिलाले घटनालाई गुमराहमा राखेको बताए । उनले घटनाबारे यर्थाथ बाहिर नल्याएकोले अनुसन्धान गर्न समस्या पपरेको बताउँदै घटनाको यर्थात बाहिर नआउँदा उजुरी दर्ता नगरेको स्वीकारे । उनले भने, ‘घटनाको यर्थात लुकाउने प्रयास भएको छ । यदि सही कुरा पत्ता लाग्यो भने यर्थाथ लुकाउने र झुठो उजुरी दर्ताको प्रयास गर्नेमाथि पनि कानून बमोजिम कारबाही अगाडि बढाउँछौं ।

गाउँमा फरक हल्ला

पीडित महिला रामले विस्थापित भएर भारतमा बसिरहेकी अवस्था गाउँमा भने अर्कै हल्ला चलेको छ । पीडित महिलाका देबर सन्तोष कुमार मण्डलले स्वयंम भाउजु कलादेवी ९नाम परिवर्तन० स्थानीय राजकुमार यादबसँग फरार भएको र उनैसंग बसिरहेको दावी गर्छन् । तर उनको दावी सही नरहेको पीडितको भनाइ छ । पीडित महिला घटना घटेकै दिनदेखि आफूमाथि अपराध गर्नेहरुलाई कानूनी कठघरमा उभ्याउन सम्बन्धित निकाय धाइरहेकी छन् । सभार दैनिक नेपाल

स्ववियु निर्वाचन फागुन १४ गर्ने निर्णय, यस्तो छ तालिका

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ गते गर्ने निर्णय भएको छ ।

शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तरगत रहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिको माघ १३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिका सदस्य सचिवद्वारा सम्पूर्ण क्याम्पस प्रमुखहरुलाई पठाइएको पत्रमा फागुन १४ गते निर्वाचन सम्पन्न गर्ने निर्णय भएको व्यहोरा उल्लेख गर्दै सम्पूर्ण क्याम्पसहरुमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षमा विद्यार्थी भर्ना माघ १५ गतेदेखि बन्द गर्न निर्देशन दिइएको छ ।
त्यस्तै पत्रमा निर्वाचन तालिका पनि उल्लेख छ ।
जसअनुसार,
फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने,
फागुन ३ गते एक बजेसम्म मतदाता सूची उपर दावी विरोध गर्ने
फागुन ५ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ४ गते ११ बजेदेखि ५ जबेसम्म उम्मद्वारको मनोनयन पत्र वितरण गर्ने
फागुन ५ गते ११ देखि ३ बजेसम्म उम्मेद्वारको मनोनयन पत्रको शिलबन्दी नामावली दाखिला गर्ने
फागुन ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेद्वारको नामावली प्रकाशित गर्ने
फागुन ६ गते २ बजेसम्म उम्मेद्वारको नामावली उपर दाबी विरोध गर्ने अन्तिम समय
फागुन ६ गते ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने
फागुन ८ गते १ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने अन्तिम समय
फागुन ८ गते ४ बजे अम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने
फागुन १४ गते मतदान मिति

बथनाहाको मुसहरलाई सहयोग जुट्दै

महोत्तरी,माघ १४ गते । जिल्लाको बथनाहा गाविस ६ मधवाका मुसहरहरुले राहत स्वरुप केहि लगाउने लुगा सहयोग पाएका छन भने अन्य ठाउबाट समेत राहतका कपडाहरु आउने क्रममा रहेको छ । शसस्त्र सिमा सुरक्षा बल जलसागरका प्रहरी उपरिक्षक प्रकाश श्रेष्ठको समेत सहयोगमा महोत्तरीका संचारकर्मी तथा समाजसेवीहरुले विभिन्न माध्यमले सहयोगको लागि आव्हान गरेपछि सहयोग जुट्न थालेको हो ।
शुक्रवार विहान काठमाडौंबाट मधेशी युवाहरुले सहयोग स्वरुप पठाएको कपडाहरु वस्तीमा हस्तान्तरण गर्दै शप्रउ श्रेष्ठले मानव सेवाका लागि गरिएको सहयोग सराहनिय रहेको भन्दै सहयोगी हातहरुलाई धन्यवाद दिए । उनले दशगजामा वसेको सो वस्तीका वासिन्दाहरु सिमामा वस्नु परेको पिडाले आफुलाई समेत घोचेको भन्दै विकल्पको लागि राजनितिक पहल आवश्यक रहेको बताए । त्यसतै आयोन काठमाडौंका सचिव सत्येन्द्र यादवले सो वस्तीका मुसहरहरुको पुर्ण नेपालको अधिनमा रहेको जग्गामा वासको व्यवस्था तथा उनीहरुलाई चाहिने स्वास्थ्य,शिक्षा,खानेपानी लगायतका सवै समस्या समाधानका लागि आफुहरुले सवैको सहयोगमा प्रयास थाल्ने बताए । प्रेस मन्च नेपालका केन्द्रिय प्रवक्ता तथा नया पत्रिकाकर्मी रंजन भण्डारीले वस्तीको समस्या जटिल भएको भन्दै स्थानिय तथा राष्ट्रिय मिडियाले सिमाको समस्या स्थलमै पुगी सवै सत्य तथ्य रुपमा प्रकाशित तथा प्रसारित गरिए अवस्य पनि नेपाल सरकार तथा सरोकारवाला सवैको ध्यान पुग्ने र दशगजामा वसेका मुसहर समुदायले आफ्नै ठाउ र आफ्नै गाउ पाउने निश्चित रहेको बताए । उनले सवै संचारमाध्यमलाई स्थल मै आएर उनीहरुको समस्या र त्यसको समाधान वारे कलम चलाई दिन संचारकर्मीहरुलाई आग्रह गरेका छन ।
आफ्नै जग्गाको अभावमा ५० घर मुसहरहरु अहिले दशगजामै पुस्तौ देखि वसोवास गर्दै आएका छन भने उनीहरुको आर्थिक अवस्था समेत दयनिय छ ।